भोटेकोशी बाढी : हालसम्म १ हजार ३४४ शव फेला, ४ हजार ८९८ बेपत्ता
२ हजार २३२ जनाको डीएनए नमुना सङ्कलन
वि.सं.२०८३ भदौ २० शनिवार १०:३१
shares

रसुवा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार अझै ४ हजार ८९८ जना बेपत्ता छन्।
फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका छन्। थप ५०१ वटा आंशिक मानव अङ्ग भेटिएका छन्, जसको पहिचान हुन बाँकी छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको उद्धार गरिएको छ। विस्थापित ३ हजार ६५५ जना विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्।
बेपत्ताको खोजीका लागि ७ हजार २१२ प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ प्रहरी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्।
शव पहिचानका लागि मृतक र आफन्त गरी २ हजार २३२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। फेला परेका शवमध्ये १ हजार ३० वटा व्यवस्थापन भइसकेको र पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा राखिएको प्रहरीले जनाएको छ।

















