पाल्पाको तानसेनमा आज २०७औँ भगवती जात्रा निकालिँदै
वि.सं.२०८३ भदौ २० शनिवार १०:३८
shares

पाल्पा । अङ्ग्रेजमाथि नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा पाल्पाको तानसेनमा आज २०७औँ भगवती जात्रा निकालिँदै छ।
हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको भगवतीको रथ यसपटक भने देश बाढीको पीडामा रहेकाले सादगीपूर्ण रूपमा निकाल्न लागिएको रणउजिरेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले बताए।
उनका अनुसार दिउँसो १२ः३० बजे शुभसाइतमा स्वस्ती वाचनपछि तानसेन–३ स्थित भगवती मन्दिरबाट रथ निकालिनेछ। विगतमा जस्तो पञ्चेबाजा, ढिमे बाजा र ठूलो भीडभाड नगरी औपचारिक रूपमा जात्रा सञ्चालन गरिनेछ। नेपाली सेनाको बाजा भने प्रयोग हुनेछ।
रथलाई नेपाली सेनाले सलामीसहित तीन पटक मन्दिर परिक्रमा गराएपछि यात्रा अघि बढ्नेछ। शीतलपाटी पुगेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीले पूजा गर्ने कार्यक्रम छ।
बुटवलको जितगढीलगायत क्षेत्रमा अङ्ग्रेजसँग भएको युद्धमा नेपाली पक्ष विजयी भएको सम्झनामा यो जात्रा मनाउन थालिएको हो। तत्कालीन पाल्पा प्रशासक कर्णेल उजिरसिंह थापाले युद्धमा विजय हासिल गरे भगवतीको मन्दिर निर्माण गरी सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए।


















