NIMB Long Banner Ad

मानव बेचबिखन रोक्न तीनै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री बालेन

143
shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँगै सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले प्रविधिको विकाससँगै मानव बेचबिखनका प्रवृत्ति र स्वरूपसमेत परिवर्तन भइरहेकाले नियन्त्रणका प्रयासलाई समयानुकूल बनाउनुपर्ने बताउनुभयो।

‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।

प्रधानमन्त्री शाहले मानव बेचबिखन नियन्त्रणका लागि सरकारले कानुनी तथा संस्थागत सुधार अघि बढाएको जानकारी दिनुभयो। उहाँका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल बनाउने गरी संशोधन विधेयक संसदमा दर्ता गरिएको छ।

मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सरकार, गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो।

“साझा पहल र संयुक्त प्रयासबाट मात्रै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सकिन्छ,” प्रधानमन्त्री शाहले भन्नुभएको छ।