NIMB Long Banner Ad

बाढीपीडित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको भरोसा : ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ’

533
shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई राज्य र सरकार साथमा रहेको भन्दै आफूलाई एक्लो नठान्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उहाँले नुवाकोटको विदुर–१०, बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार भएको घटनाले खोज तथा उद्धार अभियानप्रति आशा जगाएको बताउनुभएको छ।

प्रधानमन्त्रीका अनुसार सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठको उद्धार गरेको हो। प्रभावित क्षेत्रमा श्रेष्ठकै उमेर समूह तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई यसअघि नै उद्धार गरिएको उहाँले उल्लेख गर्नुभएको छ।

बाढीले कतिपय ज्येष्ठ नागरिकका घर, खेतबारी र सम्पत्तिमात्र होइन, परिवारका सदस्य र जीवनसाथीसमेत खोसेको प्रधानमन्त्रीले बताउनुभएको छ। नातिनातिना च्यापेर सुरक्षित स्थानतर्फ भाग्नेदेखि वृद्धाश्रमबाट ज्यान जोगाउन अन्यत्र सर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।

देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयर र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा राखिएको उहाँले जानकारी दिनुभएको छ।

उहाँहरूलाई ह्वीलचियर, वाकर, स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शको व्यवस्था गरिएको छ। अस्थायी बसाइ छोटो बनाएर सुरक्षित बसोबासको व्यवस्था गरिने प्रधानमन्त्रीले बताउनुभएको छ।

बाढीमा आफन्त गुमाएका नागरिकको आक्रोशलाई पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने भन्दै उहाँले पीडितमाथि थप पीडा दिने गतिविधिप्रति सरकार कठोर हुने चेतावनी दिनुभएको छ।

प्रधानमन्त्रीले उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै जोखिमपूर्ण क्षेत्रमा समेत खोज तथा उद्धार जारी रहेको बताउनुभएको छ।

उहाँले बाढीपीडित ज्येष्ठ नागरिकलाई भन्नुभएको छ, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।”