साउदीमाथि सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा
वि.सं.२०८३ भदौ २१ आइतवार १६:५४
shares

काठमाडौँ । साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह चरणमा लगातार तीन खेल जितेपछि नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका गुल्सन झाले अविजित ४४ रन बनाए। ईशान पाण्डेले ४० तथा देव खनालले ३९ रनको योगदान दिए।
पहिले ब्याटिङ गरेको साउदी ४९ ओभर २ बलमा १९० रनमा समेटिएको थियो। उसका अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए भने मुहम्मद अतिफले ३० रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए। ललित राजवंशीले दुई विकेट हात पारे।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो।
समूह ‘ए’ मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ २७ गते शनिबार हुनेछ।














