NIMB Long Banner Ad

बाढी प्रभावित विद्यार्थीका लागि सरकारले ल्यायो झण्डै एक अर्बको छात्रवृत्ति योजना

1.27K
shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको पढाइ निरन्तर गराउन सरकारले झण्डै एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयका छाता सङ्गठनसँग सहकार्य गर्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा दिने योजना अघि सारेको हो ।

योजनाअन्तर्गत पूर्ण तथा आंशिक छात्रवृत्तिसँगै आवासीय सुविधा, पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री र खानाको व्यवस्था गरिनेछ । प्रभावित विद्यार्थीको अवस्था र तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर कार्यक्रम कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।

प्याब्सन, एनप्याब्सन, हिसान, एपिन र मन्टेश्वरी एसोसिएसन नेपाललगायतसँग सहकार्य गरिनेछ । मन्त्रालयले छात्रवृत्ति योजनामा सहयोग गर्न निजी तथा व्यावसायिक क्षेत्रसँग पनि आग्रह गरेको छ ।

प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ । बाढीबाट १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको तथा नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको मन्त्रालयको विवरण छ ।