NIMB Long Banner Ad

बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजार १३२ जना अझै सम्पर्कविहीन

1.08K
shares

काठमाडौँ । हालैको बाढी तथा पहिरोबाट प्रभावित विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहानसम्म सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्।

प्राधिकरणका अनुसार चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७ र रसुवामा १७४ जनाको मृत्यु भएको छ। यस्तै, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ भने काठमाडौँमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। हालसम्म १०२ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ।

विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। रसुवाबाट मात्रै २ हजार ८६० जना तथा नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन छन्। यस्तै, करिब ५८७ विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

हालसम्म प्रभावित क्षेत्रबाट १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार १८५ सुरक्षाकर्मी परिचालन भएका छन्। विभिन्न ३७ होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन्।

विभिन्न अस्पतालमा ३२९ जनाको उपचार गरिएकोमा २५२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।