NIMB Long Banner Ad

जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर रुपमा उठाउनुपर्छ : प्रचण्ड

1.05K
shares

जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने बताउनुभएको छ।

बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिमाल पग्लिँदै जानु वातावरणको मात्रै नभई मानव सभ्यता र अस्तित्वसँग जोडिएको विषय भएको बताउनुभयो।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई पानीका स्रोत, कृषि, जैविक विविधता र अर्थतन्त्रमा समेत परिरहेको उहाँको भनाइ थियो। आफू प्रधानमन्त्री भएका बेला अन्तर्राष्ट्रिय मञ्चहरूमा यो विषय उठाएको उल्लेख गर्दै उहाँले नेपालले अझ प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने बताउनुभयो।

भोटेकोशी बाढीका बेला सुरुङभित्र फसेकाको उद्धारमा सरकारले आधुनिक प्रविधि र दक्ष जनशक्तिको पर्याप्त प्रयोग गर्न नसकेको पनि उहाँले बताउनुभयो। समयमै प्रभावकारी खोज तथा उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने अवस्था रहेको उहाँको दाबी थियो।