NIMB Long Banner Ad

आज कुशेऔँसी पर्व: घर-घरमा कुश भित्र्याइदै, बुबाको सम्मान गरि पर्व मनाउने प्रचलन

858
shares

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने परम्परा छ ।

शास्त्रीय विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आज सङ्कलन गरिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्नुपर्ने प्रचलन रहेको संस्कृतिविद्हरू बताउँछन् ।

सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ । कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने धार्मिक विश्वास छ । घरमा राखिएको कुशलाई वर्षभरि हुने देवकार्य, पितृकार्य तथा विभिन्न धार्मिक अनुष्ठानमा प्रयोग गरिन्छ ।

बाबुको मुख हेर्ने दिन

कुशेऔँसीलाई पितृसम्मान दिवस तथा बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ । यस अवसरमा छोराछोरीले जीवित बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने गर्छन् ।

बाबु दिवङ्गत भइसकेकाहरूले भने गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने चलन छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार बाबुको सम्मान र पितृकार्यलाई विशेष महत्त्व दिइन्छ ।