साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह
वि.सं.२०८३ भदौ २६ शुक्रवार ११:१४
shares

काठमाडौँ । आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र केही स्थानमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा बहाव बढ्ने सम्भावना छ । ती क्षेत्रमा नदी किनार, तटीय क्षेत्र तथा कमजोर भौगोलिक अवस्था भएका स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरका साथै रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, चितवन र नवलपरासी, रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिमका मुगु, जुम्ला, कालिकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी आसपासका स–साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ ।
वर्षाका कारण पानीको सतह अचानक बढ्न सक्ने भएकाले खोला तर्ने र नदी किनारमा जाने काममा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















