विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरिने
वि.सं.२०८३ भदौ २८ आइतवार १७:३६
shares

राजविराज। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक र अभिभावकका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरिने बताउनुभएको छ ।
आइतबार सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकका समस्या र सुझाव संकलन गर्दै उहाँले व्यवहारिक तथा जीवनोपयोगी शिक्षा र सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
विद्यार्थीहरूले विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, पाठ्यक्रममा व्यवहारिक विषय समावेश गर्नुपर्ने तथा विद्यालयको भौतिक पूर्वाधार र प्रविधिगत अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।
मन्त्री पोखरेलले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई निरुत्साहित गर्दै विद्यार्थी, शिक्षक र सरोकारवालाको सहभागितामा पाठ्यक्रम निर्माण तथा परिमार्जन गरिने बताउनुभयो ।
उहाँले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालय, बोदेबर्साइन–३ को श्री इश्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालय र शम्भुनाथ–६ स्थित श्री बुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयलगायतका विद्यालयमा पुगेर सुझाव संकलन गर्नुभएको थियो ।
















