अध्यक्ष पद नछाड्ने ओलीको निष्कर्ष, भने– अहिले पुनर्गठनको औचित्य छैन
वि.सं.२०८३ असोज ५ सोमवार १६:०३
shares

काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागप्रति असहमति जनाउँदै तत्काल नेतृत्व परिवर्तन आवश्यक नरहेको धारणा राख्नुभएको छ। सोमबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उहाँले आफू संकटका बेला पार्टीलाई नेतृत्वविहीन बनाएर नहिँड्ने उल्लेख गर्नुभएको छ।
प्रतिवेदनमा ओलीले आलोचना र आत्मसमीक्षाका लागि आफू तयार रहेको उल्लेख गर्दै स्वास्थ्य, उमेर तथा विगतको संघर्षलाई जोडेर हुने व्यक्तिगत आलोचनाप्रति आपत्ति जनाउनुभएको छ। उहाँले नेतृत्व हस्तान्तरणलाई आकस्मिक रूपमा नभई संस्थागत तयारी र अनुभव तथा नयाँ पुस्ताको संयोजनका आधारमा अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ।
पार्टी पुनर्गठनको विषयमा एमालेभित्र लामो समयदेखि मतभेद रहँदै आएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन सचिवालयबाट पारित भई केन्द्रीय कमिटीमा छलफलका लागि लगिएको छ।
















