इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने प्रस्ताव
वि.सं.२०८३ असोज ५ सोमवार १४:१२
shares

काठमाडौँ । इटालीले विद्यालयमा बुर्का तथा नकाबजस्ता अनुहार छोप्ने पोसाकमा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार आफ्नो पार्टीको युवा भेलामा यस्तो योजना सार्वजनिक गर्नुभएको हो।
प्रस्तावअनुसार विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाइ भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिनेछ। मेलोनीले इटालीमा भविष्य निर्माण गर्न चाहनेले भाषा सिक्न, संस्कृति बुझ्न र नियमको सम्मान गर्नुपर्ने बताउनुभएको छ।
विदेशी विद्यार्थीको कक्षागत सीमा कति हुने भन्ने भने मेलोनीले स्पष्ट गर्नुभएको छैन। हाल इटालीमा विदेशी विद्यार्थीका लागि प्रतिकक्षा ३० प्रतिशतको सीमा रहेको भए पनि नयाँ प्रस्तावले त्यसमा के परिवर्तन गर्ने भन्ने स्पष्ट भइसकेको छैन। प्रस्ताव कानुन बन्न संसद्को स्वीकृति आवश्यक पर्नेछ।
















