एसियाली खेलकुदमा चीन शीर्ष स्थानमा, नेपालको हातमा दुई कांस्य
वि.सं.२०८३ असोज १८ आइतवार १४:४६
shares

काठमाडौँ । जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा चीन १६९ स्वर्णसहित कुल ३४१ पदक जितेर शीर्ष स्थानमा रहेको छ। नेपालले भने दुई कांस्य पदकमै चित्त बुझाएको छ।
पदक तालिकामा आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित दोस्रो तथा दक्षिण कोरिया ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित तेस्रो स्थानमा रहे। भारत २१ स्वर्णसहित चौथो र उज्वेकिस्तान पाँचौँ स्थानमा रहे।
नेपालका लागि करातेको कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्य पदक जितेका हुन्। महिला कबड्डी टोलीले लगातार कांस्य जितेको हो। प्रतियोगितामा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी थिए।
नेपालले ‘मिसन २०२६’ अभियानमार्फत एक स्वर्णसहित कम्तीमा १० पदक जित्ने लक्ष्य राखेको थियो। तर, लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेन। असोज ३ गतेदेखि सुरु भएको प्रतियोगिताका सबै खेल आज सकिएका छन्।

















