तिहार र छठमा विद्युत आपूर्ति नियमित राख्न प्राधिकरणको विशेष तयारी
वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:३३
shares

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ ।
प्राधिकरणले विद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने जनाएको छ ।
कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पर्व अवधिमा विद्युत आपूर्तिमा समस्या आउन नदिन आवश्यक तयारी गर्न र गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभएको छ ।
लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ । उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने र उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ ।
प्राधिकरणले विद्युतको सुरक्षित प्रयोग गर्न, गुणस्तरहीन सामग्री नचलाउन र तार तथा उपकरणमा समस्या देखिए दक्ष प्राविधिकबाट मर्मत गराउन उपभोक्तालाई आग्रह गरेको छ ।
















