भीमफेदी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु, शोकमा सुन्दरपुर
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १४:४४
shares

काठमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको इभी हायस दुर्घटनामा सर्लाहीको एकै गाउँका १० जनाको मृत्यु भएपछि चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर शोकमा डुबेको छ ।
छठ पर्व मनाउन काठमाडौँबाट घर फर्कँदै गरेका उनीहरू बिहीबार बिहान दुर्घटनामा परेका हुन् । काठमाडौँमा फलफूललगायत व्यापार गर्दै आएका उनीहरू हायस रिजर्भ गरेर सर्लाही आउने क्रममा दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष कृष्ण यादवले जानकारी दिनुभयो ।
दुर्घटनामा तीन बालिकासहित पाँच महिला र पाँच पुरुषको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा सुन्दरपुरकै ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन् । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डमा गुडिरहेको हायस सडकबाट करिब ५०० मिटर तल भीरमा खसेको नेपाल प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर फैलिएसँगै सुन्दरपुर गाउँमा रुवावासी चलेको छ । मृतकको पहिचान र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
















