NIMB Long Banner Ad

राधेराधेको प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाखको क्षति

736
shares

भक्तपुर, कात्तिक २८ गते । भक्तपुरको मध्यपुरथिमि–९, राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

शनिबार बिहान कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेस प्रालि’मा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

आगलागीबाट स्पामा करिब ६० लाख र कम्प्लेक्समा २० लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करिब ८ बजे लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो निभाउन दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो ।

अग्लो भवनको माथिल्लो तलामा आगलागी भएकाले नियन्त्रणमा केही कठिनाइ भएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।