छठको दोस्रो दिन, खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै
वि.सं.२०८३ कात्तिक २८ शनिवार १३:४६
shares

सप्तरी – लोकआस्थाको महापर्व छठको दोस्रो दिन शनिबार सप्तरीसहित तराई–मधेशका जिल्लामा खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।
खरनाका दिन व्रतालु दिनभर निराहार बसेर साँझ स्नान गरी पूजा गर्ने र खीर, रोटी तथा गुडबाट तयार पारिएको प्रसाद ग्रहण गर्ने परम्परा छ । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुले करिब ३६ घण्टासम्म पानीसमेत नपिई निर्जल व्रत बस्ने गर्छन् ।
छठको तेस्रो दिन आइतबार साँझ नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । बाँसको सुपमा ठकुवा, भुसुवा, फलफूल, उखु र नरिवललगायतका प्रसाद राखेर सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ ।
सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।
छठलाई लक्षित गरी सप्तरीका विभिन्न स्थानमा घाट सरसफाइ, सजावट र बत्ती जडानको काम तीव्र पारिएको छ । छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, एकता र प्रकृति संरक्षणको सन्देशसमेत दिने गरेको छ ।
















