शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
वि.सं.२०८३ मंसिर ५ शनिवार ११:१६
shares

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
शान्ति सम्झौता भएको दिन मङ्सिर ५ गतेका अवसरमा सन्देश जारी गर्दै उहाँले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको हो ।
२०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको सम्झौताबाट संविधानसभा निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणजस्ता उपलब्धि हासिल भए पनि द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण, मेलमिलाप र बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक गर्ने काम अझै बाँकी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
शान्ति सम्झौताको पूर्ण कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको भन्दै उहाँले सहिद तथा बेपत्ता योद्धाप्रति सम्मान र शान्ति प्रक्रियामा योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
















