विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन आयोगको प्रस्ताव
वि.सं.२०८३ मंसिर ५ शनिवार १५:३५
1.38K
shares
shares

काठमाण्डौ – निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन र स्वदेशभित्रै अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कानुन संशोधनको प्रस्ताव अघि बढाएको छ ।
आयोगले विभिन्न विकल्पसहितको मस्यौदा गृह मन्त्रालयमा पठाएको छ । प्रस्तावमा विदेशमा रहेका नेपालीले इन्टरनेटमा आधारित डिजिटल प्रणाली वा हुलाकमार्फत मतदान गर्न सक्ने व्यवस्था सुझाइएको छ । यसका लागि वैध भिसा र छुट्टै मतदाता सूचीमा दर्ता हुनुपर्नेछ ।
यस्तै, स्वदेशमै एक जिल्लाका मतदाताले अर्को जिल्लाबाट मतदान गर्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
सर्वोच्च अदालतले २०७४ सालमै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश दिएको थियो । आयोगले आगामी चुनावबाटै यी व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ ।
















