प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै
वि.सं.२०८३ मंसिर ६ आइतवार १०:२९
shares

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ र ७ गते हुने भ्रमणका लागि उहाँ दिउँसो १स्४५ बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली जान लाग्नुभएको हो ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लाग्नुभएको हो । टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । निजी क्षेत्रका व्यवसायी तथा पत्रकारको टोली पनि दिल्ली पुग्नेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार एकल तथा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्नुहुनेछ । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, लगानी, पूर्वाधार, सम्पर्क सञ्जाल तथा भोटेकोशी विपद्पछिको पुनर्निर्माणबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री सुब्रमन्यम जयशङ्करसँग पनि भेट गर्नुहुनेछ । भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सम्झौता तथा समझदारी, जनकपुर–अयोध्या रेलवे सेवाको उद्घाटन र केही परियोजनाको शिलान्यास हुने अपेक्षा गरिएको छ । उहाँ सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
















