प्रधानमन्त्री शाह भारत पुगे, राज्यमन्त्री जितिनले गरे स्वागत
वि.सं.२०८३ मंसिर ६ आइतवार १७:०४
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ नेपाल एअरलाइन्सको नियमित उडानमार्फत इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो । विमानस्थलमा उहाँलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी तथा व्यवसायी सहभागी छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । आज भारतीय विदेशमन्त्री डा। एस जयशङ्करले पनि उहाँसँग भेट गर्ने कार्यक्रम छ ।
भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल हुनेछ । साथै विभिन्न परियोजनाको उद्घाटन, शिलान्यास र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले भोलि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरी बेलुकी स्वदेश फर्कने तालिका छ ।
















