मुगुमा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान, नागरिकका गुनासा सङ्कलन
वि.सं.२०८३ मंसिर ९ बुधवार ११:०१
shares

मुगु, मङ्सिर ९ गते । दुर्गम बस्तीका नागरिकका समस्या, गुनासा र अपेक्षा बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुगुमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत केन्द्रीय सदस्य प्रकाश न्यौपानेको नेतृत्वमा टोली सोरु गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग छलफल गरिरहेको छ ।
रास्वपा मुगुका जिल्ला सभापति बिर्खबहादुर मल्लका अनुसार मङ्सिर ३ गतेदेखि जिल्लाका चारवटै स्थानीय तहमा नागरिकका गुनासा सङ्कलन सुरु गरिएको हो । स्थानीयले खानेपानी, स्वास्थ्य, शिक्षा सुधार तथा सरकारी सेवा प्रवाहमा हुने भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने माग राखेका छन् ।
सोरु–३, भिई गाउँकी अझमपुरा डाँगरले राजनीतिक दलहरू गाउँमा आए पनि प्रचारप्रसारमै सीमित हुने गरेको भन्दै समस्या सुन्ने मात्र नभई समाधानका लागि पनि पहल गर्नुपर्ने बताउनुभयो ।
अभियानअन्तर्गत खत्याड गाउँपालिकामा मङ्सिर ८ र ९ गते, छायानाथ रारा नगरपालिकामा १४ र १५ गते तथा मुगुमकार्मारोङ गाउँपालिकामा १६ र १७ गते नागरिकसँग छलफल गर्ने कार्यक्रम छ ।
केन्द्रीय सदस्य न्यौपानेले स्थानीयका समस्या समेटेर प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाइने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय तथा पहल गरिने बताउनुभयो ।
















