NIMB Long Banner Ad

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान

552
shares

काठमाडौँ, मङ्सिर ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको चुनौती भएको बताउनुभएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताउनुभयो ।

हिंसा रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले कानुन कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भन्दै उहाँले भोटेकोशी क्षेत्रमा गएको बाढीको सन्दर्भमा विशेष सचेत रहन आग्रह गर्नुभएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने १६ दिने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय सन्देशसहित सुरु भएको हो ।