विद्यालय पाठ्यक्रममा एआई, सीपमूलक र जीवनोपयोगी शिक्षा समेट्ने तयारी
वि.सं.२०८३ मंसिर १० बिहीवार १५:३४
shares

काठमाण्डौ – सरकारले विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिने भएको छ ।
‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ब्यागलेस डे, बुक फ्री फ्राइडे, नैतिक शिक्षा, खेलकुद विज्ञान, जलवायु परिवर्तन र सूचना प्रविधिको नैतिक प्रयोगलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो ।
प्रा. डा. बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठित १९ सदस्यीय कार्यदलले पाठ्यक्रम परिमार्जनको काम गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार परिमार्जनका क्रममा अहिलेसम्म झन्डै एक लाख ५० हजार सुझाव प्राप्त भएका छन् ।
प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म समेटिने नयाँ पाठ्यक्रममा डिजिटल रूपान्तरण, समावेशिता, विपद् व्यवस्थापन र शिक्षण विधिलाई प्राथमिकता दिइनेछ । शैक्षिक क्षेत्रका जानकारहरूले व्यावहारिक, रोजगारीमुखी र तनावमुक्त मूल्याङ्कन प्रणालीमा जोड दिएका छन् ।
















