NIMB Long Banner Ad

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने जेलेन्स्कीको चेतावनी

130
shares

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने चेतावनी दिएको छन्।

मङ्गलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले रूसको हवाई क्षेत्र प्रयोग गर्ने एयरलाइन्स, बिमा कम्पनी र प्रमुख विमानस्थल सञ्चालकलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरे।

युक्रेनले नागरिक विमानलाई लक्षित नगर्ने स्पष्ट पार्दै जेलेन्स्कीले रुसी आकाशमा ड्रोन गतिविधि बढ्न सक्ने भएकाले नागरिक उड्डयन प्रभावित हुनसक्ने बताउनुभयो। पछिल्ला महिनामा युक्रेनी ड्रोन गतिविधिका कारण रूसका विभिन्न विमानस्थलमा पटक–पटक हवाई सेवा प्रभावित हुँदै आएको छ।

जेलेन्स्कीको चेतावनीप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै त्यसलाई राज्य आतंकवादको घोषणाका रूपमा व्याख्या गर्नुभएको छ। उनले युक्रेनसँग वार्ताका लागि प्रयास भइरहे पनि यस्तो अवस्थामा वार्ता अघि बढाउन कठिन हुने संकेत गरे।

यसैबीच रूस र युक्रेनबीच लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र भएका छन्। पछिल्लो रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा किभ र आसपासका क्षेत्रमा कम्तीमा १२ जनाको मृत्यु भएको बताइएको छ।

रूसले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाइरहेको छ भने युक्रेनले हवाई प्रतिरक्षाका लागि आवश्यक सामग्रीको अभाव सामना गरिरहेको जनाएको छ। त्यसको प्रतिक्रियामा युक्रेनले रूसभित्रका पूर्वाधार, बन्दरगाह र तेल प्रशोधन केन्द्रलगायत संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण बढाएको छ।

राष्ट्रपति पुटिनले युक्रेनी आक्रमणबाट रूसका केही नागरिक पूर्वाधार र तेल प्रशोधन केन्द्रमा क्षति पुगेको स्वीकार गर्नुभएको छ। यद्यपि, रुसी सेनाले युद्धको अग्रभागमा आफ्नो सैन्य गतिविधि तीव्र बनाइरहेको उनको दाबी छ।

यता जेलेन्स्कीले कूटनीतिक पहललाई सहयोग पुर्‍याउन आवश्यक परे निश्चित समय र क्षेत्रमा ड्रोन गतिविधि रोक्न सकिने संकेत गरेको छन्। रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेका कूटनीतिक प्रयासले भने अझै ठोस निष्कर्ष निकाल्न सकेका छैनन्।