NIMB Long Banner Ad

बाँकेमा ६ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

143
shares

नेपालगन्ज । पाठेघरको मुखको क्यान्सरबाट जोगाउन बाँकेमा ६ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ। जिल्लाका आठवटै पालिकामा भदौ ३० गतेदेखि खोप अभियान सञ्चालन हुने भएको हो।

जिल्ला खोप समन्वय समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार पहिलो चरणमा विद्यालयबाट खोप अभियान सुरु हुनेछ। कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप दिइनेछ।

विद्यालयमा अभियान सम्पन्न भएपछि समुदायमा रहेका १० वर्ष उमेरका किशोरीलाई समेत खोप लगाइनेछ। अभियान प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थासँग समन्वय भइरहेको पौडेलले बताए।

एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसका केही प्रकारले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने भएकाले किशोरी अवस्थामा नै एचपीभी खोप लगाउँदा भविष्यमा संक्रमण तथा क्यान्सरको जोखिम घटाउन सहयोग पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

बाँकेका आठवटै पालिकामा सञ्चालन हुने अभियानमार्फत लक्षित सबै किशोरीलाई खोपको पहुँचमा ल्याउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।