सन्तानको दीर्घायुको कामना गर्दै जितिया व्रत शुरु
वि.सं.२०८३ असोज १६ शुक्रवार ११:१५
shares

काठमाण्डौ । सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै तराई–मधेशमा जितिया व्रत शुरु भएको छ ।
विशेषगरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी, पोखरी तथा जलाशयमा स्नान गरी पितृ र जिमुतवाहन देवताको पूजा गर्दै व्रतको सङ्कल्प लिने गर्छन् ।
व्रतको मुख्य दिन बिहानै स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार बस्ने परम्परा छ । साथै दिवङ्गत महिला पितृलाई तर्पण तथा प्रसादी चढाउने गरिन्छ ।
व्रतअघि विभिन्न परिकार, दही, मिठाइ, माछा तथा कोदोको रोटी खाने चलन छ । व्रतको समय पूरा भएपछि पूजा गरिएको डाली खोलेर प्रसादी बाँडेपछि मात्र व्रतालुले पानी तथा अन्य खानेकुरा खाने गर्छन् ।
थारूसहित तराई–मधेशका विभिन्न समुदायका महिलाले पुस्तौँदेखि मनाउँदै आएको जितिया धार्मिक आस्थासँगै पारिवारिक सद्भाव र सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो । यस अवसरमा महिला समूहमा गीत, कथा तथा सांस्कृतिक कार्यक्रमसमेत गर्ने चलन छ ।


















