NIMB Long Banner Ad

शिक्षा सुधारका लागि नयाँ ऐन र पाठ्यक्रम परिमार्जन हुँदै : मन्त्री पोखरेल

2.99K
shares

सिमरा, असोज २० गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि नयाँ ऐन निर्माण र राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम अघि बढिरहेको बताउनुभएको छ ।

सिमरामा आज आयोजित उच्चस्तरीय संवादमा उहाँले स्थानीय आवश्यकता र धरातलीय यथार्थका आधारमा शिक्षा नीति बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले धेरै विश्वविद्यालय खोल्नुभन्दा विशिष्टीकृत र गुणस्तरीय विश्वविद्यालय निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै सीपमा आधारित र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले मधेस प्रदेशमा माध्यमिक तहसम्मका कम्तीमा १०० वटा विश्वस्तरीय विद्यालय निर्माण वा रूपान्तरण गर्ने योजना रहेको जानकारी दिनुभयो । स्थानीय आवश्यकता समेटेर पाठ्यक्रम निर्माण गरिने तथा सिटिइभिटी र नर्सिङ शिक्षाका समस्या नयाँ ऐनमार्फत समाधान गरिने उहाँले बताउनुभयो ।