अध्ययन बिदापछि सेवामा नफर्किने कर्मचारीबाट त्रिविले असुल्यो १६ करोड ५० लाख
वि.सं.२०८३ असोज १३ मंगलवार ०८:५४
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ। ७५ वटा केसबाट उक्त रकम असुल गरिएको हो।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीबाट रकम असुल गर्ने प्रक्रिया जारी छ।
अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जाना जोडेर रकम असुल गर्ने व्यवस्था छ।
त्रिविले थप केसको हिसाब–किताब तथा अभिलेख खोजी गरिरहेको जनाएको छ। उपलब्ध विवरणअनुसार हिसाब भएका थप केसमा करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ।
विश्वविद्यालयले अध्ययन बिदापछि सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र सम्पर्क नगरे कबुलियतनामा र प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले जनाएको छ।


















