त्रिविको शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न मन्त्री पोखरेलको निर्देशन
वि.सं.२०८३ असोज २२ बिहीवार १७:०७
shares

काठमाडौँ, असोज २२ गते । शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिविको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुभएको छ ।
त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा उहाँले प्रवेश परीक्षा, भर्ना, अध्ययन–अध्यापन, परीक्षा र नतिजा प्रकाशनलगायत सबै प्रक्रिया तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिनुभयो । क्यालेन्डर प्रभावित भए स्पष्ट कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले परीक्षामा विद्यार्थीले कति लेख्योभन्दा पनि कति सिक्यो भन्ने मापन गर्ने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो । रटेको ज्ञानभन्दा समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान र व्यावहारिक दक्षता विकासमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।
नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिलाई जिम्मेवार र नैतिक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

















