धार्मिक तथा सांस्कृतिक पत्रकारलाई पुरस्कार दिन अक्षयकोष स्थापना
वि.सं.२०८३ भदौ २१ आइतवार १७:३६
shares

काठमाडौँ। धर्म, संस्कृति, अध्यात्म, पुरातत्व र इतिहासजस्ता नेपाली मौलिकतासँग जोडिएका विषयमा पत्रकारिता गर्ने सञ्चारकर्मीलाई प्रोत्साहन गर्न धार्मिक तथा सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरिएको छ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को पहलमा स्थापना गरिएको कोषमा गोकर्णेश्वर–५ निवासी कोमलप्रसाद लामिछानेले सुरुआती ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ।
कोष शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले संस्कृति संरक्षणका लागि पत्रकारितामार्फत हुने योगदानलाई प्रोत्साहन गर्न पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रका अनुसार २०८४ सालको पौष शुक्ल पूर्णिमादेखि हरेक वर्ष धार्मिक तथा सांस्कृतिक विषयमा योगदान पुर्याउने एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ।
कोषका लागि रकम उपलब्ध गराउनुभएका लामिछानेले आगामी दिनमा पनि सहयोग थप गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ। रेक्जोनको स्थापना २०८१ पुस २९ गते धार्मिक, सांस्कृतिक, आध्यात्मिक, पुरातात्त्विक तथा ऐतिहासिक विषयमा पत्रकारिता गर्ने सञ्चारकर्मीलाई संगठित गर्ने उद्देश्यले भएको हो।

















