बाढी प्रभावित परीक्षार्थीका लागि त्रिविले विशेष परीक्षा सञ्चालन गर्ने
वि.सं.२०८३ भदौ २१ आइतवार १७:५४
shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले भोटेकोशी बाढीबाट प्रभावित परीक्षार्थीका लागि छुट्टै परीक्षा सञ्चालन गर्ने भएको छ।
रसुवाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीका कारण निर्धारित परीक्षा दिन नसकेका विद्यार्थीलाई लक्षित गरी विशेष व्यवस्था गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।
बाढीबाट प्रत्यक्ष प्रभावित भई संशोधित तालिकाअनुसारको परीक्षामा समेत अनुपस्थित भएका परीक्षार्थीले आफू प्रभावित भएको प्रमाणित कागजात पेस गर्नुपर्नेछ। घाइते भएर अस्पताल भर्ना भएको हकमा अस्पतालको कागजात तथा परिवारका सदस्य गुमाई काजक्रियामा संलग्न भएको अवस्थामा सम्बन्धित स्थानीय निकायको प्रमाणित कागजात पेस गर्न सकिने त्रिविले जनाएको छ।
त्यस्ता परीक्षार्थीका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित डिन कार्यालयले नियमित परीक्षाकै प्रकृतिमा २०८३ साल असोजको दोस्रो साताभित्र विशेष परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ।


















