NIMB Long Banner Ad

ड्रोन आक्रमणपछि साउदीको तेल पाइपलाइन बन्द

208
shares

रियाद। इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो महत्वपूर्ण तेल निर्यात मार्ग पूर्व–पश्चिम पाइपलाइनको सञ्चालन अस्थायी रूपमा रोकेको छ । होर्मुज जलडमरूमध्यमा अवरोध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो पाइपलाइन बन्द हुँदा तेल आपूर्तिमा थप दबाब पर्न सक्ने देखिएको छ ।

साउदी विदेश मन्त्रालयका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनलाई लक्षित गरी धेरै ड्रोन आक्रमण भएका थिए । आक्रमणबाट केही मानिस घाइते हुनुका साथै भौतिक क्षति भएको जनाइएको छ । साउदी ऊर्जा मन्त्रालयका एक अधिकारीले सावधानीका रूपमा पाइपलाइन सञ्चालन रोकिएको बताएका छन् ।

मध्यपूर्वमा युद्ध सुरु भएपछि साउदी अरबले यान्बु बन्दरगाहसँग जोडिने पूर्व–पश्चिम पाइपलाइनको प्रयोग बढाउँदै आएको थियो । यसैबीच, बिहीबार खिचिएका भूउपग्रह तस्बिरमा मदिना नजिकै कालो धुवाँको मुस्लो देखिएको थियो ।

इराकी प्रधानमन्त्री अली अल–जैदीको कार्यालयले आक्रमण इराकी भूमिबाट भएको पुष्टि गर्दै दक्षिणी प्रान्त मैसानका सुरक्षा कमान्डरलाई पदबाट हटाइएको जनाएको छ । इराकी सरकारले घटनाको निन्दा गरेको छ ।

तत्काल जवाफी कारबाही नगर्ने साउदीको निर्णय

साउदी अरबले इराकी प्रधानमन्त्रीको आग्रहमा तत्काल जवाफी कारबाही नगर्ने जनाएको छ । इराकबाट साउदी अरब तथा छिमेकी देशमाथि हुने आक्रमण रोक्न इराकी सरकारले गरिरहेको प्रयासलाई समर्थन गर्ने रियादको भनाइ छ ।

यद्यपि, आफ्नो सार्वभौमिकता, सुरक्षा, पूर्वाधार र नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको साउदी सरकारले स्पष्ट पारेको छ । बहराइन, जोर्डन र कतारले पनि आक्रमणको निन्दा गरेका छन् ।

आक्रमण र मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको बताइएको छ । यसैबीच, इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्दै आएका छन् । उनीहरूले लाल सागर र बाब अल–मन्दब जलडमरूमध्य क्षेत्रमा आफ्नो नियन्त्रण थप बलियो बनाएको दाबी गरेका छन् ।