NIMB Long Banner Ad

जलवायु नीति २०८३ मा युवाका सुझाव: मन्त्री चौधरीसमक्ष दस्ताबेज पेस

सातै प्रदेशका २०० भन्दा बढी बालबालिका तथा युवाका आवाज राष्ट्रिय नीतिमा समेट्न माग

7.2K
shares

​काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी नीति निर्माण प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित ‘लोकल कन्फरेन्स अफ युथ’ (LCOY) बाट तयार पारिएका सुझाव तथा निष्कर्ष कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसमक्ष प्रस्तुत गरिएको छ।
​देशका सातै प्रदेशबाट सहभागी २०० भन्दा बढी बालबालिका तथा युवाले सघन छलफलपश्चात् तयार पारेका नीतिगत सुझाव एलसिओवाई (LCOY) को तर्फबाट आकृति डोटेल तथा ‘युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल’की संस्थापक दीक्षा सुवेदीले संयुक्त रूपमा मन्त्री चौधरीलाई हस्तान्तरण गरेका हुन्।
​सम्मेलनका क्रममा सहभागीहरूले जलवायु परिवर्तनका कारण बालबालिका तथा युवा पुस्तामा परेको प्रभाव, जलवायु न्याय, अनुकूलन तथा न्यूनीकरण, जलवायु शिक्षा, युवा सहभागिता, लैङ्गिक तथा सामाजिक समावेशिता र स्थानीय स्तरका जलवायु कार्यलगायत विषयमा छलफल गरी नीतिगत सुझाव तयार पारेका थिए।
​सुझाव पत्र पेस गर्दै आयोजक प्रतिनिधिहरूले जलवायु नीति तथा निर्णय प्रक्रियामा बालबालिका र युवाको सहभागिता केवल प्रतिनिधित्वमा मात्र सीमित नभई उनीहरूका अनुभव, आवश्यकता र सुझावलाई नीतिगत रूपमा सम्बोधन गरिनुपर्नेमा जोड दिए। आगामी जलवायु नीति २०८३ निर्माण प्रक्रियामा बालबालिका तथा युवाको दृष्टिकोण र सुझावलाई अनिवार्य रूपमा समेट्न उनीहरूले आग्रह गरेका छन्।
​‘युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल’की संस्थापक दीक्षा सुवेदीका अनुसार सातै प्रदेशका युवाहरूको आवाज समेटिएको यो सुझाव दस्ताबेज वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालसमक्ष समेत प्रस्तुत गरिसकिएको छ।

मन्त्री गीता चौधरीलाई एलसिओवाई (LCOY) सम्मेलनका तर्फबाट जलवायु नीति २०८३ सम्बन्धी युवाका सुझाव पत्र पेस गरिँदै।