हिमाली क्षेत्रमा जलवायु प्रभावबारे कोप–३१ मा छलफलको बाटो खुल्यो
वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२
shares

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्ने प्रभावबारे आगामी दुई वर्षसम्म संवाद हुने भएको छ।
नेपाल र भुटानले संयुक्त रूपमा अघि सारेको प्रस्तावअनुसार पर्वतीय क्षेत्रसम्बन्धी विषयमा छलफल गर्ने सहमति भएको हो। यद्यपि, नेपालको प्रस्तावित एजेन्डा सम्मेलनको औपचारिक कार्यसूचीमा भने समावेश हुन सकेन।
जलवायु तथा वातावरण विज्ञ मञ्जित ढकालका अनुसार सम्मेलनको उद्घाटन सत्रमै नेपालको प्रस्तावलाई महत्त्व दिँदै छलफल अघि बढाउने सहमति भएको हो। सम्मेलनको अध्यक्षताले यस विषयमा परामर्श प्रक्रिया अघि बढाउनेछ।
अतिकम विकसित राष्ट्रहरूको समूहका अध्यक्षका प्रमुख सल्लाहकारसमेत रहेका ढकालले पर्वतीय क्षेत्रको विषय आगामी वर्षहरूमा हुने अनुसन्धान संवादमा समेत समेटिने जानकारी दिनुभएको छ।
नेपालले यसअघि पनि विभिन्न जलवायु सम्मेलनमा हिमालको तापक्रम वृद्धि र जलवायुजन्य जोखिमका विषय उठाउँदै आएको छ। यसपटक उद्घाटन सत्रमै प्रस्तावले प्राथमिकता पाउनुलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको छ।

















