एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
वि.सं.२०८३ कात्तिक ९ सोमवार १०:०४
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा गएको संस्करणका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बेलुकी ५ बजे भिड्दैछन् ।
प्रतियोगितामा आठ टोली सहभागी छन् । यस संस्करणको विजेताले १ करोड ५० लाख, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा डेविड वार्नर, आन्द्रे रसेल, शाकिब अल हसन, मोइन अली र एन्जेलो म्याथ्युजलगायत विदेशी खेलाडी सहभागी हुँदैछन् । यसपटक डीआरएस प्रणालीसमेत प्रयोग गरिनेछ ।
लिग चरणका खेलका टिकट साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकिएको छ । एलिमिनेटर र फाइनलका टिकटको मूल्य क्रमशः एक हजार र दुई हजार रुपैयाँ छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।



















